काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग–२ को चौथो त्रिकोणात्मक एकदिवसीय र त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाका लागि स्कटल्यान्ड पुगेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।
आइतबार साँझ नेपाली टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन कुमार सिंह र क्रिकेट म्यानेजर विनोद दासले स्वागत गरे ।
विश्वकप लिग–२ मा नेपालले स्कटल्यान्ड्को डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा घरेलु टोली र नेदरल्यान्ड्ससँग डबल राउन्ड रोविन पद्धत्तिमा प्रतिस्पर्धा गरेको थियो । कूल चार खेलमा नेपालले तीन खेलमा जित हासिल गर्यो ।
आफ्नो पहिलो खेलमा स्कटल्यान्माथि रोमाञ्चक एक विकेटको जित हासिल गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हरायो ।
स्कटल्यान्डविरुद्धको दोस्रो खेलमा भने नेपालले दुई रनको नमिठो हार बेहोर्यो । अन्तिम खेलमा नेपालले डच टोलीलाई १६ रनले पराजित गरेको थियो ।
त्यस्तै टिटउट रंगशालामा सम्पन्न ट्वान्टी–२० शृंखलामा नेपाल उपविजेता बन्यो । तेस्रो सुपर ओभरसम्म गएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्यो । तेस्रो खेलमा नेपालले डच टोलीमाथि बदला लिँदै ६ विकेटको जित हासिल गर्यो ।
अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डले नेपाललाई ३४ रनले हराउँदै उपाधि जितेको हो ।
विश्वकप लिग–२ मा चौथो शृंखलाको समाप्तिपछि सातौं स्थानमा यथावत नेपालले १६ खेलमा १२ अंक जोडेको छ । २३ खेलमा २६ अंक जोडेको नेदरल्यान्ड्स अंकतालिकाको दोस्रो स्थानमा छ । १९ खेलबाट २४ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।
लिग–२ मा प्रत्येक टोलीले कूल ९ शृंखलामा कूल ३६ खेल खेल्नेछन् । शीर्ष चारमा रहने टोलीले सोझै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् भने अन्तिम चारमा रहने टोलीले भने छनोट चरणको प्लेअफ खेल्नुपर्नेछ ।
नेपालले अब अक्टोबरमा संयुक्त अरब इमिरेट्स (युएई)मा आफ्नो पाँचौं शृंखला खेल्नेछ । जहाँ नेपालले घरेलु टोलीसँगै संयुक्त राज्य अमेरिकासँग खेल्नेछ । युएई १६ खेलमा ६ अंक जोड्दै तालिकाको पुछारमा छ भने संयुक्त राज्य अमेरिका २० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा छ ।