काठमाडौं । रोहित ठाकुरको अलराउन्ड प्रदर्शनप्रेरित बागमती प्रदेशले यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
बागमतीले कालिञ्चोक क्रिकेट मैदानमा बुधबार कोशी प्रदेशविरुद्ध १०५ रनको सहज जित निकाल्यो ।
जितसँगै बागमतीले दुई अंक जोडेको छ । कोशीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा कोशीले सुदूरपश्चिम प्रदेशसँग सात विकेटको हार बेहोरेको थियो ।
बागमतीले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १३० रनमै समेटियो ।
कोशीका लागि कप्तान शिवान्श बजगाईँले ५५ बलमा ६ चौका र एक छक्काको मद्दतले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी सुमन बुढाथोकीले २३, सकुशल श्रेष्ठले १६ र अफन ताहिरले १५ रन बनाए ।
बागमतीका लागि रोहितले तीन, सुशील साउद र कप्तान प्रसिद्ध जैसीले समान दुई तथा राजेश बोहरा र तपेन्द्र विष्टले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले ४८.१ ओभरमा सवै विकेट गुमाउँदै २३५ रनको योगफल तयार पारेको थियो ।
बागमतीका लागि राजेश बोहराले ५२ बलमा ९ चौका र एक छक्काको मद्दतले सर्वाधिक ६९ रनको योगदान गरे । यसैगरी रोहित ठाकुरले ६८ बलमा ६ चौकासहित ५७, प्रसिद्ध जैसीले ३९ र इशान शाह सुवेदीले १६ रन बनाए ।
कोशीका लागि सुयोग भट्टराई र एलिश मण्डलले समान तीन, राजिव महतोले दुई र कविराज खत्रीले एक विकेट लिए ।