काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघ (एनडब्लुएफ) ले अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघको लापरवाहीका कारण एसिया कप उसु च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागिता अनिश्चित बनेको आरोप लगाएको छ ।
नेपाली खेलाडी दीपक हमाल र शिव सिलवालले चीनमा जुलाई २ देखि ७ सम्म हुने एसिया कप उसु च्याम्पियनसिपमा स्थान पक्का गरेका छन् । तर दुई संघको विवादका कारण उनीहरूको सहभागिता निश्चित छैन ।
राष्ट्रिय मान्यता प्राप्त उसु महासंघका का महासचिव नवराज ढुंगानाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापानको योकोहामामा आयोजित तेस्रो ताओलु उसु विश्वकप २०२४ मा भएको खर्च अन्तर्राष्ट्रिय मान्यता प्राप्ता संघलेले तिर्न नसकेपछि नेपाललाई अन्तर्राष्ट्रिय उसु महासंघले कालोसूचीमा राख्ने सम्भवाना बढेको बताए ।
‘जापान उसु महासंघले हामीलाई ७ हजार २८० अमेरिकी डलर तिर्न बाँकी रहेको जानकारी दिएको छ । उक्त रकम समयमै तिर्न नसके नेपाल अन्तर्राष्ट्रिय उसु महासंघको कालोसूचीमा पर्नेछ,’ढुंगानाले भने।
महासचिव लाक्पा लामाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त उसु महासंघले उक्त प्रतियोगितामा टोलीलाई मैदानमा उतारेको थियो ।
दीपक हमाल, विजय सिंजाली, पासाङ शेर्पा, राजिव तामाङ र निमा घर्तीमगरले उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए। विजयले देशका लागि कांस्य पदक जितेका थिए ।
गतवर्ष नै अप्रिलमा चीनको जियानज्यिनमा सम्पन्न विश्वकप छनोटमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङबाट बिदाइ भएर १४ खेलाडीसहितको टोलीले सहभागिता जनाएको थियो । सोही प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा अन्तर्राष्ट्रिय उसु महासंघले नेपालका पाँच खेलाडीलाई विश्वकपमा सहभागिताका लागि छानेको थियो ।
परिषदबाट विश्वकप सहभागिताको क्रममा खेलाडीको खाना र बसोबासको खर्च बिलअनुसार भुक्तानीको प्रकृया अन्तिम चरणमा पुगेको बेला युवा तथा खेलकुद मन्त्री चौधरीले रोकेको आरोप लगाउँदै खेलाडीले बुधबार पत्रकार सम्मेलन गरेका थिए ।
उनीहरूले तत्काल रकम निकासाका लागि अनुरोध पनि गरेका छन् ।
एनडब्लुएफले आफूहरू नै नेपालको आधिकारी महासंघ भएको दावी गरेको छ ।