काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले आफू नयाँ चुनौतीका लागि तयार रहेको बताएका छन् ।
शुक्रबार मिट एण्ड ग्रिट कार्यक्रममा विल्डेले भने,‘एएफसी एसिया कप छनोट ठूलो प्रतियोगिता हो । यसमा जित निकाल्न सहज छैन । तर हामी उत्कृष्ट प्रदर्शनको प्रयास गर्ने छौं । म नयाँ चुनौतीका लागि तयार छु ।
विल्डेले महिला एसियन कप छनोटको लागि अब तीन साताको समय बाँकी रहेकोले अब भोलिदेखि नै त्यसमा केन्द्रित भएर काम गर्ने बताए । ‘हामी भोलिदेखि नै एसिया कपको तयारीमा लाग्ने छौं । राम्रो नतिजाका लागि म बलियो टोली चहान्छु । त्यसैले टोलीमा केही परिवर्तन हुन्छ,’ विल्डेले भने ।
अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहले उनको सम्झौता एक वर्षको रहेको बताए । ‘हामीले एक वर्षको सम्झौता गरेका छौं र त्यो हिजोदेखि लागू भएको छ,’ शाहले भने ।
प्रशिक्षक छनोट समितिका संयोजक हरि खड्काले अनुभवका आधारमा विल्डेलाई छनोट गरिएको जनाए ।
‘ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर टेक्निटल टिमसँगकाे छलफलपछि उहाँलाई छनोट गरिएको हो’, खड्काले भने, ‘आर्थिक पाटो पनि हेर्नुपर्छ, कति तिर्न सक्छौं, त्यसकारण सबै आधारहरू हेरी नयाँ प्रशिक्षक नियुक्त गरिएको हो ।’
त्यस्तै खड्काले २१ जनाको आवेदन परेको बताए । ‘२१ जनाको आवेदन परेको थियो, त्यहाँबाट शर्टलिस्ट गरेर दुई जना भएपछि भर्चुअल इन्टरभ्यु गरेर उहाँलाई छानिएको हो’ उनले भने ।
युइएफए प्रो लाइसेन्स प्राप्त विल्डेले पछिल्लो पटक नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सको प्रशिक्षण सम्हालेका थिए ।
यसैगरी उनले सोमालिया र रुवान्डाको राष्ट्रिय टोली, चीनको यु-२३ टोली तथा अल्जेरिया र हंगेरीको सहायक प्रशिक्षकका रूपमा काम गरिसकेका छन् ।
नेपाल एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा नेपाल, लाओस, उज्वेकिस्तान र श्रीलंका छन् ।
यो समूहको खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले जुन २९ मा लाओससँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।
यस्तै नेपालले जुलाई २ मा श्रीलंका र ५ मा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने एसिया कप खेल्न पाउनेछ ।