काठमाडौं । एसिया छनोबाट उज्वेकिस्तान र जोर्डनले आगामी वर्ष हुने फिफा विश्वकपमा स्थान गरेका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपको यात्रा तय गरेका हुन् ।
उज्वेकिस्तानले बिहीबार युएईलाई गोलरहित बराबरीमा रोक्दै समूह ‘ए’ बाट विश्वकप यात्रा तय गर्यो । अब एकमात्र खेल बाँकी रहँदा उज्वेकिस्तानले युएईसँग चार अंकको अग्रता लिएको छ ।
यो समूबाट इरानले यसअघि नै विश्वकप यात्रा तय गरिसकेको छ । यो नतिजासँगै उज्वेकिस्तानको ९ खेलबाट १८ र युएईको १४ अंक छ ।
यसैगरी बिहीबारै सम्पन्न समूह ‘बी’ अन्तर्गतको खेलमा जोर्डनले ओमनविरुद्ध ३-० को सहज जित निकाल्यो । जोडर्नलाई जित दिलाउन अली आल्वानले ह्याट्रिक पूरा गरे ।
जितसँगै ९ खेलमा १६ अंक जोडेको जोर्डन शीर्ष दुईमा रहने पक्का भएको हो । जोर्डनले इराकसँग चार अंकको दूरी बनाएको छ ।
यो समूहबाट दक्षिण कोरियाले पनि विश्वकपमा स्थान पक्का गरेको छ । दक्षिण कोरियाले बिहीबार इराकविरुद्ध २-० को जित दर्ता गर्यो ।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा हालसम्म १० देशले स्थान पक्का गरेका छन् । यसअघि तीन आयोजक राष्ट्रले स्वत: विश्वकपमा स्थान बनाउँदा छनोटबाट जापान, न्युजिल्यान्ड, इरान ,अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरेका थियए ।