काठमाडौं । रोयल च्यालेन्जर्स बेङ्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार राजस्थान रोयल्सविरुद्ध ११ रनको जित दर्ता गरेको छ ।
जितसँगै ९ खेलमा १२ अंक जोडेको बेङ्लुरु तेस्रो स्थानमा छ । पराजित राजस्थान समान खेलबाट चार अंकका साथ आठौं स्थानमा छ ।
एम चन्नास्वामी क्रिकेट मैदानमा घरेलु टोली बेङ्लुरुले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गर्दै ९ विकेट गुमाएर १९४ रन बनायो ।
राजस्थनका लागि यशस्वी जैसवालले ४९, ध्रुव जुरेलले ४७, नितिश रानाले २८, कप्तान रियान परागले २२, वैभव सूर्यवंशीले १६, शुभम दुबेले १२ र सिम्रन हेटमायरले ११ रन बनाए ।
पहिलो विकेटका लागि यशस्वी र वैभवले ५२ रनको साझेदारी गरेका थिए । बेङ्लुरुका लागि जोश हेजलउडले चार, कुर्णाल पाण्डेयाले दुई तथा भुवनेश्वर कुमार र यस दयालले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २०५ रनको योगफल तयार पारेको थियो ।
बेङ्लुरुका लागि विराट कोहलीले ४२ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७० रनको योगदान गरे । यसैगरी देवदत्त पडिकलले २७ बलमा चार चौका र तीन छक्कासहित ५०, फिल साल्टले २६, टिम डेविडले २३ र जितेश शर्माले अविजित १९ रन बनाए ।
विराटले दोस्रो विकेटका लागि देवदत्तसँग ९५ र पहिलो विकेटका लागि फिलसँग ६१ रनको साझेदारी गरेका थिए ।
राजस्थानका लागि सन्दीप शर्माले दुई तथा वानिन्दु हसरंगा र जोफ्रा आर्चरले समान एक विकेट लिए ।