बाँके । पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताकोको उपाधिका लागि शुक्रबार दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
खेल नेपालगञ्ज रंगशालामा दिउँसो ४ बजे सुरु हुनेछ । राष्ट्रिय खेलाडीले भरिएका दुवै टोलीबीचको प्रतिस्पर्धा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
फाइनल अघि बिहीबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीले आफु नै उपाधिको हकदार भएको दाबी गरेका थिए ।
एपिएफकी कप्तान अनिता बस्नेतले पनि उपाधि जित्न तयार रहेको बताउँछिन् । ‘अघिल्लो वर्ष लगातार तीन उपाधि जित्यौं । अब, २०८२ को पहिलो उपाधिका रूपमा लुम्बिनी कप भित्र्याउन चहान्छौ,’ अनिताले भनिन् ।
एपिएफले पहिलो खेलमा कर्णाली प्रदेश फुटबल संघलाई ६-० तथा सेमिफाइनलमा रौतहटलाई ३-० ले पराजित गरेको थियो । उत्कृष्ट लयमा रहेको एपिएफ अञ्जना रानामगर, रेनुका नगरकोटे, अनिता केसी, सरु लिम्बु, सविता रानामगर, रश्मीकुमारी घिसिङ जस्ता खेलाडीका साथ मैदान उत्रिने छ ।
यता पुलिसकी कप्तान निरु थापा पनि युवा खेलाडीको प्रदर्शन राम्रो भएकाले उपाधि जित्नेमा विश्वस्त छिन् । ‘ युवा खेलाडीले राम्रो प्रदर्शन गरेका छन् । उनीहरूले नेपालगञ्जको गर्मीमा पनि निकै राम्रो खेल्दा हामीलाई हौसला मिलेको छ । एपिएफ बलियो टोली हो । तर हामी पनि आफ्नोतर्फबाट शतप्रतिश दिँदै उपाधि जित्ने प्रयास गर्नेछौं ।’
यसअघि पुलिसले पहिलो खेलमा भारतको सिलिगुढी एफसीलाई ४-० ले र सेमिफाइनलमा विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ६-५ ले हराएको थियो । पुलिसलाई उषा नाथ, अमृता जौसी, समीक्षा घिमिरे, निर्मला उपाध्याय, मिना देउवा, सहारा लिम्बुजस्ता खेलाडीको साथ रहनेछ ।
अन्तरालको आयोजना बाँके जिल्ला फुटबल संघको सहकार्यमा पहिलो पटक भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् । त्यस्तै विधागत सर्वोत्कृष्ट खेलाडीले पनि मेडल प्राप्त गर्नेछन् ।
यो सिजन एपिएफ र पुलिस दोस्रो पटक फाइनलमा भिड्दैछन् । यसअघि राष्ट्रिय महिला लिगको फाइनलमा एपिएफले पुलिसलाई निरास बनाएको थियो ।
एपिएफले इलाम र चितवनमान भने आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।