काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा श्री भगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार टुसाल युथ क्लबसँग २-२ को बराबरीमा रोकिएको छ ।
यो नतिजासँगै श्री भगवतीले शीर्ष स्थानमा उक्लने अवसर गुमायो । दोस्रो स्थानको भगवती आठ खेलबाट १८ अंक जोडेको छ । एक खेल कम खेलेको लिग लिडर प्लानिङ ब्वाइजको १९ अंक छ ।
यता टुसाल आठ खेलबाट सात अंक जोडेको टुसाल १२औं स्थानमा छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भगवतीका लागि दुवै गोल उज्वल राईले गरे । टुसालका लागि सुजन माझी र निश्चय थापाले गोल गरे ।
खेलको ३०औं मिनेटमा उज्वलको गोलमार्फत भगवतीले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।
भगवतीले आफ्नो अग्रतालाई दोस्रो हाफमा भने कायम राख्न सकेन । ६०औं मिनेटमा सुजनले टुसालका लागि एक गोल फर्काए ।
निर्धारित समय सकिन सात मिनेट बाँकी रहँदा नश्चियले गोल गर्दै भगवतीबाट अंक खोसे ।