काठमाठौं । कप्तान रुविना क्षेत्रीको अलराउन्ड प्रदर्शनप्रेरित कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
सोमबार धनगढीस्थित फप्ला क्रिकेट मैदानमा कोशीले मधेश प्रेदशविरुद्ध ४७ रनको जित निकाल्यो ।
जितसँगै दुई खेलमा चार अंक जोडेको कोशी समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । दुवै खेलमा पराजित मधेश अंकविहिन छ ।
पहिलो खेलमा कोशीले बागमती प्रदेशलाई पराजित गर्दा मधेशले आर्मीसँग हार बेहोरेको थियो ।
कोशीले प्रस्तुत गरेको १०६ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो ।
मधेशका लागि प्रतिमा साहले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कोशीका लागि रुविनाले तीन, ज्योति दनुवार र अलिशा कडायतले समान दुई तथा संगीता राईले एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०६ रनको योगफल तयार पारेको थियो ।
कोशीका लागि रुविना क्षेत्रीले ५३ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५३ रनको योगदान गरिन् । यसैगरी टिका शाहले २१ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
मधेशका लागि प्रतिमा साहले दुई तथा कप्तान सरस्वती कुमारी, भूमि सिंह र दीपा रामले समान एक विकेट लिए ।
सोमबारै सम्पन्न पहिलो खेलमा बागमती प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १४ रनको जित दर्ता गर्यो ।