काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।
बागमतीले सोमबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध १४ रनको जित निकाल्यो ।
जितसँगै बागमतीको दुई खेलमा दुई अंक भएको छ । पहिलो पराजय बेहोरेको आर्मीको पनि समान खेलबाट दुई अंक नै छ ।
बागमतीले पहिलो खेलमा कोशी प्रदेशसँग हार बेहोर्दा आर्मीले मधेश प्रदेशलाई पराजित गरेको थियो ।
बागमतीले प्रस्तुत गरेको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३.२ ओभरमा ६७ रनमै समेटियो । आर्मीका लागि अञ्जली विश्वकर्माले १४, निग्मा तामाङले १३ र कप्तान लक्ष्मी साउदले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बागमतीका लागि सोनु खड्का, मनिषा उपाध्याय र कप्तान कञ्जन श्रेष्ठले समान दुई तथा संस्कृति फुयाल र विपिशा शाहीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित १५ ओभरमा दुई विकेट गुमाउँदै ८१ रनको योगफल तयार पारेको थियो । खराब मौसमका कारण टस ढिला भएपछि खेललाई १५ ओभरमा झारिएको थियो ।
बागमतीका लागि याशु पाण्डले २५, कञ्चन श्रेष्ठले अविजित २४ र यशोदा विष्टले अविजित २० रन बनाए ।
आर्मीका लागि मनिषा चौधरी र लक्ष्मी साउदले समान एक विकेट लिए ।