काठमाडौं । आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा नेपालले लगातार दोस्रो खेलमा खराब ब्याटिङ गरेको छ । सोमबार मलेसियाको वाइएसडी युकेएम ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर मात्र ७३ रनको योगफल तयार पार्यो ।
नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकासहित सर्वाधिक २७ रनको योगदान गरिन् । त्यस्तै ओपनर सावित्री धामीले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
स्कटल्यान्डका लागि मेइसी मकेइराले ३.५ ओभरमा १५ रन खर्चिँदै सर्वाधिक पाँच विकेट लिइन् । योसँगै मकेइरा प्रतियोगितामा पाँच विकेट हासिल गर्ने एक मात्र बलर बनेकी छन् । त्यस्तै एम्मी बाल्दी र नेमा सेखले समान दुई विकेट लिँदा एक विकेट क्रिस्टी मेकोलको नाममा रह्यो ।
स्कटल्यान्डविरुद्ध हार बेहोरे नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । पहिलो खेलमा पनि नेपालको ब्याटिङ दयनीय थियो । नेपालले बंगलादेशसामू जितका लागि ५३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो ।