काठमाडौं । थ्री स्टार क्लबले एन्फा यु-१६ युथ लिगमा मंगलबार एफसी खुमलटारविरुद्ध ५-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै थ्री स्टारले ६ खेलमा १६ अंक जोडेको छ । छैटौं हार बेहोरेको खुमलटार अंकविहिन छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा थ्री स्टारलाई जित दिलाउन राज बम, रोहित दवाडी, रोशन तामाङ, भुपेन्द्रबहादुर रावत र सुमीत बलम्पाकीले गोल गरे । खुमलटारका लागि सुवास मगरले एक गोल फर्काए ।
खेलको २८औं मिनेटमा राजको गोलमार्फत थ्री स्टारले अग्रता लिएको थियो । ४३औं मिनेटमा रोहितले टोलीको अग्रता दोब्बर बनाए ।
रोशनले ५२औं मिनेटमा रोशनले गोल गर्दा थ्री स्टार ३-० ले अगाडि बढ्यो । निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा भुपेन्द्रले टोलीका लागि चौथो गोल गरे ।
इन्जुरी समयमा सुवासले पेनाल्टीमार्फत गरेको गोल खुमलटारका लागि सान्त्वना बन्यो । इन्जुरी समयमै सुमीतले गोल गर्दै थ्री स्टालाई सनदार जित दिलाए ।