काठमाडौं । नेपालले नेत्रहीन क्रिकेट विश्वकपमा लगातार दोस्रो हार ब्यहोरेको छ । आफ्नो दोस्रो खेलमा आइतबार नेपाल बंगलादेशसँग ६७ रनले पराजित भयो ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको थियो । अब नेपालले सोमबार अफगानिस्तानको सामना गर्नेछ ।
बंगलादेशले प्रस्तुत गरेको १८० रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि भरत थापाले ३१, नरेश चौधरीले १९, रमेश बानियाँले १४ र पदम बदाइलाले ११ रन बनाए ।
बंगलादेशका लागि अस्मोत अलीले दुई तथा मोहम्मद सलमान र आरिफ उल्लाहले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले १९.३ ओरभमा सबै विकेट गुमाउँदै १७९ रनको योगफल तयार पारेको थियो ।
बंगलादेशका लागि आरिफ होसेनले ३१ बलमा ६ चौकाको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे । यसैगरी मोहम्मद सलमानले ३४, अबिद हसन राबीले २६, शहिदुल इस्लामले ११ र आरिफ उल्लाहले १० रन बनाए ।
नेपालका लागि सुनिल मगर, भरत थापा, अमिश गुरागाईँ र दुर्गादत्त पौडेलले समान एक विकेट लिए ।