काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले बलियो पकड जमाएको छ ।
पर्थ क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको ५३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया तेस्रो दिनको खेल सकिँदा १२-३ को स्थितीमा छ । अस्ट्रेलिया अझै ५२२ रनले पछाडि छ । अस्ट्रेलियाका लागि उस्मान ख्वाजा तीन रन बनाएर खेलिरहेका छन् ।
भारतका लागि कप्तान जसप्रित बुमराहले दुई र मोहम्मद सिराजले एक विकेट लिए ।
१७२-० को स्थितीबाट तेस्रो दिनको ब्याटिङ सुरु गरेको भारतले ६ विकेट गुमाउँदै ३१५ रन बनाएर इनिङ समाप्तीको घोषणा गरेपछि अस्ट्रेलियाले ५३४ रनको लक्ष्य पाएको थियो ।
दोस्रो पारीमा भारतका लागि यशस्भी जैसवालले २९७ बलमा १५ चौका र तीन छक्काको मद्दतले सर्वाधिक १६१ रनको योगदान गरे । यसैगरी विराट कोहलीले १४३ बलमा आठ चौका र दुई छक्काको मद्दतले अविजित १००, केएल राहुलले १७६ बलमा पाँच चौकाको मद्दतले ७७, नितिशकुमार रेड्डीले अविजित ३८ र वासिङ्टन सुन्दरले २९ रन बनाए ।
अस्ट्रेलियाका लागि नाथन लायनले दुई तथा मिचेल स्टार्च, जोश हेजलउड कप्तान प्याट कमिन्स र मिचेल मार्शले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा १५० रन मात्रै बनाउन सकेको थियो । अस्ट्रेलिया १०४ रनमै समेटिएपछि भारतले ४६ रनको अग्रता लिएको थियो ।