रुपन्देही । भैरहवामा जारि बिपी कोइराला स्मृति कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ ।
सिद्धार्थ रंगशालामा बुधबार श्रीलंकाको श्रीलंका स्टेट सर्भिसेज क्रिकेट एसोसिएसनलाई ४७ रनले पराजित गर्दै पाकिस्तानको जावेद गोहर इन्टरनेसनल क्रिकेट एकेडेमी सेमिफाइनल पुग्ने चौंथो टिम बन्यो ।
यसअघिनै लाइफ केयर क्रिकेट क्लब, नेक्सस रुपन्देही ११ र साइक क्रिकेटर्सले सेमिफाइनलमा स्थान पक्का गरिसकेका थिए ।
जावेद गोहरले प्रस्तुत गरेको १३८ रनको लक्ष्य पछ्याएको श्रीलंका स्टेट १७.२ ओभरमा ९० रनमै समेटियो । श्रीलंका स्टेटका लागि समन कुमाराले सर्वाधिक ३९ रन तथा थुशारा लक्षितागले २३ रन बनाए ।
जावेद गोहरका लागि शमुन इकबालले चार, रिशिभ जोशी र रमिशले समान दुई तथा जईम खान र अली अन्सारील समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको जावेद गोहरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रनको योगफल तयार पारेको थियो ।
जावेद गोहरका लागि अली हुसेनले ५९ बलमा ७ चौकाको मद्दते सर्वाधिक ५८ रनको योगदान गरे । रिशिभ जोशीले अविजित १६ तथा कप्तान इमरान नाजिरले १४ रन बनाए ।
श्रीलंका स्टेटका लागि थुशारा लक्षिताग र समन कुमाराले समान दुई विकेट लिए ।
दिनकाे दोश्रो खेलमा लाइफ केयरले साइक क्रिकेटर्सलाई ६३ रनले पराजित गर्यो । लाइफ केयरले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याएको साइकले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।
साइकका लागि सहादत रहमानले सर्वाधिक २७ रन तथा कृष्ण कुमारले १८ रन योगदान दिए ।
लाइफ केयरका दीपक पुनिया, योगेश कुमार र रोहित दांगवालले समान दुई तगा सक्षम शर्मा, क्षितिज त्रिपाठी र तुषार वर्माले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङको लाइफ केयरले निर्धारित २० ओभरमा चारविकेट गुमाउँदै १८९ रनको योगफल तयार पारेको थियो ।
लाइफ केयरको लागि जस्मित नैनले ४२ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ७२ रनको योगदान गरे । यसैगरी विपुल कम्बोजले ५२ बलमा ९ चौका र दुई छक्काको मद्दतले ७१, दीपक पुनियाले २० र सुभम लाम्बाले १० रन बनाए ।
साइक क्रिकेटर्सका लागि मोहम्मद ओमरले दुई तथा कृष्ण कुमार र राकिबले समान एक विकेट लिए ।
समूह चरणको खेल सकिएसँगै लाइफ केयरले चार खेलमा आठ, नेक्ससले ६, साइक क्रिकेटर्सले चार र जावेद गोहरले दुई अंक जोडे । चारै खेलमा पराजित श्रीलंका स्टेट अंकविहिन बन्यो ।
पहिलो सेमिफाइनलमा लाइफ केयर र जावेद गोहर तथा दोश्रो सेमिफाइनलमो साइक क्रिकेटर्स र नेक्सस रुपन्देही ११ प्रतिस्पर्धा गर्नेछन् । दुवै सेमिफाइन शुक्रबार हुनेछ ।