काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले पहिलो विदेशी खेलाडीका रूपमा इङ्ल्यान्डका विकेटकिपर तथा ब्याटर थोमस मुर्सलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत २८ वर्षीय मुर्सलाई अनुबन्ध गरेको जानकारी दियो । उमेर समूहमा इङ्ल्यान्डको प्रतिनिधत्व गरिसकेका मुर्सले सिनियर टोलीका लागि भने खेलेका छैनन् ।
मुर्सले १४७ ट्वान्टी-२० खेलमा आठ अर्धशतकसहित २ हजार ३११ रन प्रहार गरेका छन् ।
लुम्बिनीको मार्की खेलाडीमा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल छन् ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । लिगमा लुम्बिनीसँगै जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, कर्णाली याक्स र पोखरा एभेन्जर्सले प्रतिस्पर्धा गर्नेछन् ।