काठमाडौं । नेपाल एकदिवसीय अभ्यास खेलमा मंगलबार अमेरिका ‘ए’ सँग चार विकेटले पराजित भएको छ ।
ग्रन्ड पियरे क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ८१ रनको लक्ष्य अमेरिकाले २३.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
अमेरिकाका लागि नितिस रेड्डीले २९, राहुल जरिवालले २६ र सञ्जय कृष्णमुर्तीले १० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले चार तथा करण केसी र ललितनारायण राजवंशीले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २५.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कुशल मल्लले १८, देव खनालले १२ र भीम सार्कीले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अमेरिकाका लागि आरिक नदकर्णीले चार, अयान देसाइले दुई तथा उत्कर्ष श्रीवस्ताव र अली शेखले समान एक विकेट लिए ।
नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ को शृंखलाअघि अमेरिका ‘ए’ सँग अभ्यास खेल खेलेको हो। नेपाल, अमेरिका र स्कटल्यान्डसम्मिलिन शृंखला अर्को सातादेखि सुरु हुँदैछ ।