कञ्चनपुर। नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्टस एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न दोश्रो राष्ट्रिय र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा काठमाडौंका सिएम नवीन तण्डुकार च्याम्पियन बनेका छन् ।
१९३२ रेटेड सिएम नवीनले आठ जित दर्ता गर्दै आठ अंक जोडे । उनले उपाधिसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।
कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा सम्पन्न प्रतियोगितामा १९५६ रेटेड खेलाडी सिएम शुश्रुत दहाल सात अंक जोडेर टाइब्रेकर आधारमा उपविजेता बने। शुश्रुतले २० हजार रुपैयाँ प्राप्त गरेका छन्।
स्वीस मानेजर बुछोल्स्ज फिडे नियम अप्लाइका कारण समान सात अंक बनाए पनि २००८ रेटेड एफएम क्षितिज भण्डारीले तेस्रो हुँदै १४ हजार रुपैयाँ हात पो ।
२०४३ रेटेड आशिष फुयाँलले चौथो हुँदै ९ हजार रुपैयाँ आफ्नो नाम गरेका छन्।
२१३० रेटेड एफएम रुपेश जैसवाल ६.५ अंक बनाउदै पाँचौ तथा समान अंक जोडेका २१०० रेटेड पुरुषोत्तम सिलवाल छैटौं स्थानमा रहे ।
१९६० रेटेड धिरेन राई, १९८४ रेटेड नेपाल च्याम्पियन राजन सुवेदी, २०१९ रेटेड प्रकाशचन्द्र नेपाल र २०४४ रेटेड सुरज महर्जन क्रमशः सातौ देखि १०औं स्थमामा छन् ।
९ चरणको प्रतियोगितामा नेपालका शीर्ष ६३ खेलाडीले सहभागिता जनाएका थिए ।
यसैगरी बुधबारै सम्पन्न पहिलो राष्ट्रिय ब्लिट्ज बुद्धिचालको उपाधि दोलखाका आशिष फुयाँलले जितेका छन् । उने उपाधिसँगै १० हजार रुपैयाँ प्राप्त गरे । महिला ब्लिट्जमा सिन्दिरा जोशीले उत्कृष्ट बन्दै ५ हजार पाइन् ।
नेपाल बुद्धिचाल महासंघले पहिलो पटक आयोजना गरेको ३ मिनेट २ सेकेन्डको द्रुतगतिमा खेलिने ब्लिट्ज बुद्धिचाल स्पर्धामा ४९ जना सहभागी थिए ।