बबरमहल । काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले १५औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्टस च्याम्पियनसिपमा सहभागी खेलाडीलाई सम्मान गरेको छ ।
माल्दिभ्समा कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा नेपाललाई रजत पदक दिलाएका थिए ।
काठमाडौं जिल्ला शारीरिक सुगठनकै कोषाध्यक्ष भएकाले रुजेशलाई ३१ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । बाँकी पदक विजेता तथा सहभागी खेलाडी ललित धिमाल र रन्जित आचार्यलाई प्रशंसा पत्रबाट सम्मान गरियो ।
उनीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, सचिव दिनेश राजभण्डारी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीलगायतले सम्मान गरे ।