काठमाडौं । प्रथम अन्तर्राष्ट्रिय वज्र मार्सल आर्ट्स प्रतियोगिताको पुरुष सुपर हेभिवेट ९० केजीमाथिमा आइतबार नेपालका सन्देश मानन्धरले स्वर्ण पदक जितेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कभर्डहलमा सन्देशले नेपालकै सरोज श्रेष्ठलाई पराजित गरे । पुरुष ५५ केजीमुनिमा नेपालका प्रवीण माझीले भारतका सुजय गोरेनलाई हराउदै स्वर्ण पदक जिते ।
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६२ केजीमुनिमा न सुजित गुरुङले मनीष कार्की, ६९ केजीमुनिान सनी सिंहले आकाश श्रेष्ठ, ७६ केजीमुनिमा विकास गुरुङले शिव भुजेल, ८३ केजीमुनिमा महेन्द्र विकले रविन्द्र लुहार र ९० केजीमुनिमा अनुजकुमार सिंहले विशाल सुनारलाई हराउँदै स्वर्ण पदक चुमे । फाइनल खेल्ने सबै खेलाडी नेपालका हुन् ।
यसैगरी महिला ४६ केजीमुनिमा अस्मिता तामाङले रश्मी श्रेष्ठ, ५१ केजीमुनिमा सपना आलेले सुहानी महर्जन, ५६ केजीमुनिमा शान्ति थापा मगरले बविता कार्की र ७१ केजीमुनिमा सपना ऐडीले सिमा घिसिङलाई निरास बनाउँदै स्वर्ण पदक जिते । उनीहरु सबै नेपालका हुन् ।
यस्तै ६१ केजीमुनिमा नेपालकीअप्सरा कुमालले भारतकी सोनामल्हामो दर्जीलाई हराउँदै स्वर्ण पदक चुमिन् ।
विजेतालाई पूर्व मेयर राजाराम श्रेष्ठ, आयोजक संघका अध्यक्ष जगतप्रसाद गौचन, वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरलगायतले पुरस्कृत गरे ।
दुई दिने प्रतियोगितामा नेपालका ३६ र भारतका ५ गरी ४१ खेलाडीको सहभागिता रहेको थियो ।