काठमाडौं । साबिक विजेता बंगलादेशले दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतविरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको छ ।
बुधबार त्रपुरेश्वरस्थित दशरथ रंगशालामा जारी समूह ‘ए’को अन्तिम खेलमा बंगलादेशले पाँच पटकको विजेता भारतमाथि दबाब बनाइरहेको छ । यही दबाबकाबीच खेलमा बंगलादेश तीन गोल गर्न सफल भएको हो । तीन गोलले पछाडि परेको स्थितिमा भारतले एक गोल फर्काएको हो ।
भारतले पनि गोलका अवसर सृजना नगरेको भने होइन । बाला देवीले सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा मनिसाको फ्रिकिक पहिलो बारमा लागेर बाहिरिएको थियो । बंगलादेशले भने पाएका अवसरलाई गोलमा परिणत गर्यो । बैगलादेशका लागि अफेइदा खन्दाकेर तोहुरा खातुनले दुई तथा अफेइदा खन्दाकेरले एक गोल गरे । भारतका लागि बाला देवीले गोल गरिन् ।
खेलको १०औं मिनेटमा भारतीय खेलाडी मनिसाको प्रहार बंगलादेशकी गोलकिपर रुप्मा चक्माले बचाइन् ।
खेलको १८औं मिनेटमा बंगलादेशले सेटपीस अवसरलाई सदुपयोग गर्दै अग्रता लियो । कप्तान सवीना खातुनको कर्नरलाई विपक्षी गोलकिपर पान्थोइ चानुले नियन्त्रणमा लिन सकिनन् । जसको फाइदा अफेइदाले लिइन् । उनको लोफ्टेड प्रहारले टप कर्नरको जाली चुमेको थियो । २९औं मिनेटमा बंगलादेशले दोस्रो गोल गर्यो । यसपालि विपक्षी रक्षकको तालमेल नमिल्दा रितु पोर्ना चक्माको क्रसमा तोहुरा (खातुन)ले गोल गरिन् ।
खेलको ३५औं मिनेटमा चानु सोराखाइबमको क्रसमा बाला देवीले गरेको प्रहार गोलकिपर चक्माले बचाउँदा भारत गोल गर्नबाट चुक्यो । त्यसको सात मिनेटपछि तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले समसुनुहार जेको ब्याक पासमा बक्स नजिकैबाट दर्शनीय गोल गरिन् । उनको शक्तिशाली प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
बंगलादेशले तेस्रो गोलको सेलेब्रेसन गर्न नपाउँदै भारतले एक गोल फर्कायो । काउन्टर आक्रमणमा बाला देवीले गोल गरिन् ।
भारत यसअघि नै सेमिफाइनल पुगिसकेको छ । भारतले पहिलो खेलमा चिर प्रतिद्धन्द्धी पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो ।
भारतलाई हराए बंगलादेश ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ । पहिलो खेलमा बंगलादेशले पाकिस्तानविरुद्ध १–१ को बराबरी खेलेको थियो ।