काठमाडौं । पाँच पटकको विजेता भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै बंगलादेश दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘ए’ को विजेता बनेको छ ।
बुधबार त्रपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न समूहको अन्तिम खेलमा बंगलादेशलाई जित दिलाउन तोहुरा खातुनले दुई तथा अफेइदा खन्दाकेरले एक गोल गरिन् । भारतका लागि एनगाङ्गोम बाला देवीको गोल सान्त्वना बन्न पुग्यो । खेलका सबै गोल पहिलो हाफमा भएका हुन् । भारतले तीन गोलले पछाडि रहेको स्थितिमा एक गोल फर्काएको हो ।
दोस्रो हाफमा बंगलादेशकी गोलकिपर रुप्मा चक्माले स्तरीय खेल प्रस्तुत गर्दा बंगलादेशले भारतलाई लगातार दोस्रो संस्करण हराउन सफल भएको हो । गत संस्करण बंगलादेशले यही मैदानमा भारतलाई समूह चरणमै ३–० गोल अन्तरले हराएको थियो ।
जितसँगै बंगलादेशले दुई खेलबाट चार अंक जोड्यो । पहिलो खेलमा बंगलादेशले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । भारतले पहिलो खेलमा पाकिस्तानलाई ५–२ गोल अन्तरले पराजित गरेको थियो ।
खेलको १०औं मिनेटमा भारतीय खेलाडी मनिसाको प्रहार बंगलादेशकी गोलकिपर रुप्माले बचाइन् । १८औं मिनेटमा बंगलादेशले सेटपीस अवसरलाई सदुपयोग गर्दै अग्रता लियो । कप्तान सवीना खातुनको कर्नरलाई विपक्षी गोलकिपर पान्थोइ चानुले नियन्त्रणमा लिन सकिनन् । जसको फाइदा अफेइदाले लिइन् । उनको लोफ्टेड प्रहारले टप कर्नरको जाली चुमेको थियो ।
खेलको २९औं मिनेटमा बंगलादेशले दोस्रो गोल गर्यो । यसपालि विपक्षी रक्षकको तालमेल नमिल्दा रितु पोर्ना चक्माको क्रसमा तोहुरा (खातुन)ले गोल गरिन् ।
खेलको ३५औं मिनेटमा चानु सोराखाइबमको क्रसमा बाला देवीले गरेको प्रहार गोलकिपर चक्माले बचाउँदा भारत गोल गर्नबाट चुक्यो । त्यसको सात मिनेटपछि बंगलादेशले तोहुराले व्यक्तिगत दोस्रो गोल गरिन् । उनले समसुनुहार जेको ब्याक पासमा बक्स नजिकैबाट दर्शनीय गाल गरेकी थिइन् । उनको शक्तिशाली प्रहारले दोस्रो बारको जाली चुमेको थियो ।
बंगलादेशले तेस्रो गोलको सेलेब्रेसन गर्न नपाउँदै भारतले एक गोल फर्कायो । काउन्टर आक्रमणमा बाला देवीले गोल गरेकी थिइन् ।
दोस्रो हाफको ५५औं मिनेटमा भारतको गोलमा फेरि एकपटक बाधक बनिन् । वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी ज्योती चौहानको प्रहार बंगलादेशी रक्षकले नियन्त्रण गर्न नसक्दा रिबाउन्डमा आएको बललाई अर्की वैकल्पिक खेलाडी रिम्पा हाल्दारले सदुपयोग गरिन् । तर, रिम्पाको प्रहारलाई रुप्माले सुन्दर बचाउ गरिन् । त्यसको ६ मिनेटपछि ज्योतीले ६ यार्ड परबाट गरेको प्रहारलाई पनि रुप्माले बचाइन् ।
खेलको ७९औं मिनेटमा बंगलादेशका लागि दोस्रो हाफमा मैदान प्र्रवेश गरेकी सपना रानीको लामो दुरीको प्रहार भारतीय गोलकिपर पान्थोइले बचाइन् । इन्जुरी समयमा बक्स बाहिरबाट मोनिका चक्माको प्रहार पान्थोइले सहजै नियन्त्रणमा लिइन् ।