आईसिसी एकदिवसीय विश्वकप

फाइनलमा स्थान बनाउन दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनलमा आज (बिहीबार) दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो सवाँ २ बजे कोलकताका इडेन गार्डेन्समा हुनेछ । टस पौने दुई बजे हुनेछ । दुईबीचको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा स्थान बनाइसकेको छ ।

अस्ट्रेलिया नवौं र दक्षिण अफ्रिकाले पाचौँ पटक विश्वकपको सेमिफाइलनमा स्थान बनाएका छन् । दक्षिण अफ्रिका पहिलो पटक फाइलनमा स्थान बनाउने लक्ष्यमा छ । यसअघि दुई टोलीबीच सन् १९९९ र २००७ को सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो । दुबै खेल अस्ट्रेलियाले जित्न सफल भएको हो  ।

अस्ट्रेलियाले पछिल्लो ८ सेमिफाइनलमा खेलिसकेको छ । अब नवौं पटक विश्वकपको सेमिफाइलन खेल्न उत्रदैछ । पछिल्लो आठ सेमिफाइनलमा एक खेलमा मात्रै हारेको छ । एक खेल टाई भएपनि उत्कृष्ट नतिजाको कारण फाइनलमा स्थान बनायो ।

दक्षिण अफ्रिकाले चार पटक सेमिफाइनल खेलेको छ । तीन खेल हारेको छ भने एक खेल टाई भयो । सन् १९९९ मा अस्ट्रेलियासँग खेल टाई भएपनि दक्षिण अफ्रिका सेमिफाइनलबाटै बाहिरिनु परेको थियो ।

विश्वकप अघि भएको पाँच खेलको शृंखलामा भने अस्ट्रेलिया ३–२ ले पराजित भएको थियो । दुई टोलीबीच कुल एक सय ९ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ र अस्ट्रेलियाले ५० खेल जितेको छ । तीन खेल टाई हुँदा एक खेल अनिर्णित बन्यो । विश्वकपको सात भेटमा दुबैले समान तीन खेल जितेका छन् । एक खेल टाई भएको छ ।

यसअघि अस्ट्रेलिया लिग चरणमा लगातार सात खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सुरुआती दुई खेल हारेको अस्ट्रेलियाले त्यसपछि कमब्याक गरेको हो । दक्षिण अफ्रिका विश्वकपमा उत्कृष्ट दुईमा स्थान बनाउँदै अन्तिम सेमिफाइनल पक्का गरेको थियो ।