काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनलमा आयोजक भारतले न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुम्बईको वानखेडे रंगशालामा कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।
दुवै टोलीले सुरुआती रोजाईमा कुनै पनि परिवर्तन गरेको छैन । खेल सवा २ बजे सुरु हुनेछ ।
जारी विश्वकपमा भारत अपराजित छ । उसले खेलेका ९ खेल नै जितेको छ । १८ अंक जोडेको भारत शीर्षस्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको थियो । समान ९ खेलबाट ५ जितसहित १० अंक जोडेको न्युजिल्यान्ड चौथो स्थानमा रहँदै सेमिफाइलन पुग्ने अन्तिम टोली बन्यो ।
सुरुआती चार खेलमा जित निकालेको न्युजिल्यान्डले त्यसपछिका चारै खेलमा हार बेहोरेको थियो । निर्णायक खेलमा श्रीलंकालाई ५ खेलले हराउन सफल भएको हो । भारतले भने ९ खेलमै सत प्रतिशत जित निकाल्यो । लिग चरणको भेटमा भारतले न्युजिल्यान्डलाई १२ बलअघि चार विकेटले हराएको हो ।
कप्तान शर्मासँगै भारतका विराट कोहली, शुभमन गिल, जसप्रित बुम्राह, श्रेयस अय्यर, कुलदीप यादव, मोहम्मद सिराज निकै लयमा छन् । न्युजिल्यान्डको लागि कप्तान केन विलियम्ससँगै रचिन रविन्द्र, ट्रेट बोल्ड, डेवोन कोन्वे, लाकी फर्गुसन, टाम लाथम, डेरिल मिचल, ग्लेन फिलिप्स, टिम साउदी लगायतले सानदार प्रदर्शन गरेका छन् ।
कोहली उच्च लयमा छन् । विश्वकपमा सर्वाधिक रन बनाउने कोहली पहिलो खेलाडी हुन् । उनले ९ इनिङ्स नै खेल्दै पाँच सय ९४ रन बनाएका छन् । उनले दुई सतक र पाँच अर्धसतक बनाएका हुन् । न्युजिल्यान्डविरुद्ध ८० रनभन्दा माथि बनाउने हो भने कोहली भारतका लागि एउटै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी बन्नेछन् । २००३ विश्वकपमा सचिन तेन्दुलकरले ६७३ रन बनाएका थिए ।
भारतका बुमराह ९ इनिङ्समा १७ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको पाँचौ स्थानमा छन् ।
न्युजिल्यान्डका रचिन रविन्द्र पाँच सय ६५ रनसहित सर्वाधिक रन बनाउने खेलाडीमा तेस्रो स्थानमा छन् । उनले तीन सतक र दुई अर्धसतक बनाएका छन् । न्युजिल्यान्डका साट्नर ९ इनिङ्समा १६ विकेट लिँदै सर्वाधिक विकेट लिने नवौं स्थानमा रहे ।