काठमाडौं । ब्याटिङ, बलिङ र फिल्डिङतर्फ कमजोर प्रदर्शन गरेको नेपाल चार देशसम्मिलित ट्वान्टी २० शृंखलाको पहिलो खेलमा तान्जेनियासँग २७ रनले पराजित भएको छ ।
बुधबार बिहान हङकङमा भएको खेलमा तान्जेनियाले दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा सबै विकेट गुमाउँदा मात्र ८८ रन बनाउन सक्यो ।
नेपाल र तान्जेनिया पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । तान्जेनियाले दुई अंक जोडेको छ । हालसम्म दुई देशबीच प्रतिस्पर्धा भएको थिएन । फातुमा किबासुको कप्तानीमा रहेको तान्जेनिया आईसिसी वरियतामा १९औं र नेपाल २१औं स्थानमा छ । नेपालले यसपछि शृंखलामा आयोजक हङकङ र जापानसँग खेल्नेछ । तालिकामा शीर्ष दुईमा रहने टोली उपाधिका लागि नोभेम्बर १९ मा प्रतिस्पर्धा गर्नेछन् ।
नेपालका तीन खेलाडी शुन्यमा पेभिलियन फर्किएका छन् । दुई खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । अलराउन्डर सिता राना मगरले सर्वाधिक ४३ रन बनाइन् । ३१ बलमा चार छक्का प्रहार गरिन् । अर्धसतकतर्फ अगाडी बढेकी सितालाई छक्का प्रहार गर्ने क्रममा जाकायोले जेरोमीको बलमा क्याच गरिन् । सिताले एक्लै इनिङ्स उकास्ने प्रयास गरेपनि अन्य खेलाडीले बलियो साथ दिन सकेनन् ।
कप्तान इन्दु बर्माले १५ रन बनाइन् । उनले दुई चौका प्रहार गरिन् । ओपनर पुजा महतो तीन रन बनाएर आउट भइन् । उपकप्तान विन्दु रावल गोल्डेन डक आउट भइन् । सम्झना खड्का ६ बल खेल्दा बिना रन पेभिलियन फर्किइन् ।
पूर्व कप्तान रुविना क्षेत्री एक बल पनि खेल्न नपाई शुन्यमा रन आउट भइन् । ९ रन बनाएकी काजल श्रेष्ठ पनि रन आउट भइन् । अस्मिना कर्माचार्य पनि दुई रन बनाएर आउट भएकी हुन् । संगिता राई १३ बलमा चार रन बनाएर आउट भइन् । इश्वरी विष्ट ३ रनमा पेभिलियन फर्किइन् ।
तान्जेनियाकी सोफिया जेरोमीले सर्वाधिक तीन विकेट लिइन् । निमा पिउसले दुई तथा पेरिक जाकायो, एमवानाम्भुआ उशांगे र ऐशा मोहमदले समान एक विकेट लिए ।
यसअघि हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर ब्याटिङ गरेको तान्जेनियाले सात विकेट गुमाउँदै निर्धारित २० ओभरमा एक सय १५ रन बनाएको थियो ।
तान्जेनियाको लागि हुदा ओमारीले सर्वाधिक २५ रन बनाइन् । २६ बलमा दुई चौका प्रहार गरेकी ओमारीलाई अस्मिना कर्माचार्यले रन आउट गराइन् ।
ऐशा मोहमदले २१ रन बनाइन् । २१ बलमा एक चौका प्रहार गरेकी ऐशालाई इन्दु बर्माले आफ्नै बलमा क्याच गरिन् । साउम एमताईले १६ रन बनाइन् । २५ बल खेलेकी साउमलाई सिंगता राईले काजल श्रेष्ठबाट स्टम्पिङ गराइन् । ओपनर तथा कप्तान फातुमा किवासुलाई रुविना क्षेत्री बेलवासेले ११ रन बनाउँदा बोल्ड गरिन् ।
तेस्रो नम्बर क्रिजमा पुगेकी मोनिका पास्कललाई संगिताले कप्तान इन्दु बर्माबाट १० रन बनाउँदा क्याच आउट गरिन् । ६ रन बनाएकी नीमा पिउसलाई इन्दु बर्माले रुबिनाबाट रन आउट गरिन् ।
९ रन बनाएकी पेरिक जाकायोलाई पुजा महतोले रुबिनाबाट क्याच आउट गराइन् । साफिया जेरोमी ६ र सुफा मोहमेदी एक रन बनाएर अविजित रहे ।
नेपालको लागि संगिता राईले सर्वाधिक दुई विकेट लिइन् । पूर्व कप्तान रुबिना क्षेत्री, पुजा महतो र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।
नेपालविरुद्ध खेल्दै तान्जेनियाका पेरिका जाकायो र शेइला किजितोले डेब्यु गरेका छन् ।
नेपाली टोली इन्दु बर्माको कप्तानीमा पहिलो जित निकाल्नबाट टाढाँ रह्यो । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दुलाई पहिलो पटक कप्तानी जिम्मेवारी दिएको थियो । एक दशकदेखि कप्तानी जिम्मेवारी लिएकी अर्की अलराउन्डर रुबिना क्षेत्रीलाई पदमुक्त गराउँदै क्यानले इन्दुलाई जिम्मेवारी दिएको हो ।
प्रशिक्षकमा मनोज कटवाल पनि जितको खोजीमै रहे । कटवाल पहिलो जित निकाल्दै सानदार सुरुआत गर्ने दाउमा थिए । नेपाल पुलिस क्लब र चितवन राइनोजको प्रशिक्षक सम्हालेका कटवाल घरेलु क्रिकेटमा सफल प्रशिक्षक मध्येका एक हुन् ।