धनगढी । महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोटमा नेपाललाई सेमिफाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेका तीन क्रिकेटरलाई धनगढी क्रिकेट एकेडेमी( डिसीए) ले सम्मान गरेको छ ।
डिसीएले नेपाली टोलीमा रहेका धनगढीका कविता कुँवर, इश्वरी विष्ट र रुवि पोदारलाई बिहीबार सम्मान गरेको हो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा ग्रेस इन्टरनेसनलका निर्देशक एन्ड्रयु पौडेलले तीनै जनालाई सम्मानपत्र र मायाको चिनोसहित सम्मान गरे ।
सम्मानग्रहण गरेपछि कविताले ग्रासरुट क्रिकेटको विकासमा डिसिएको महत्वपूर्ण योगदान रहेको र लामो समयदेखि यहाँको क्रिकेट विकासमा भूमिका खेलेको संस्थाबाट सम्मानित हुन पाउँदा खुशी लागेको बताइन् ।
गत हप्ता भएको प्रतियोगितामा थाइल्यान्डसँग सेमिफाइनलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको थियो । सम्मान कार्यक्रममा डिसिएका प्रशिक्षक राजु रिजाल, प्रबन्धक समुयल न्यौपानले लगायतको उपस्थिति थियो ।