एसिसी एसिया कप

एसिसी एसिया कपः भारतले दियो पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य

काठमाडौं । हार्दिंक पान्ड्या र इशान किसनको उत्कृष्ट प्रदर्शनप्रेरित भारतले एसिसी एसिया कपमा पाकिस्तानसामू २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रनको योगफल तयार पारेको थियो  ।

भारतका लागि हार्दिकले ९० बलमा सात चौका र एक छक्काको मद्दतमा सर्वाधिक ८७ रनको योगदान गरे । यसैगरी इशानले ८१ बलमा नौ चौका र दुई छक्काको मद्दतले ८२, जसप्रित बुमराहले १६, श्रेयश अय्यर र रविन्द्र जडेजाले समान १४, कप्तान रोहित शर्माले ११ र शुवमन गिलले १० रन बनाए ।

 पाँचौं विकेटका लागि हार्दिक र इशानले १ सय ३८ रनको साझेदारी गरे ।

पाकिस्तानका लागि शहिन शाह अफ्रिदीले चार तथा हरिस रौफ र निशम शाहले समान तीन विकेट लिए ।

पाकिस्तान लगातार दोस्रो जितसहित समूह विजेताका रूपमा सुपर चारमा स्थान बनाउन चाहन्छ । भारत पनि जित निकाल्दै सुपर चारको सम्भावना बलियो बनाउने लक्ष्यमा छ ।

समूह ‘ए’ को पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनले पराजित गरेको थियो । भारतले सोमबार नेपालको सामना गर्नेछ ।