काठमाडौं । नेपाली राष्ट्रिय पुरुष किक्रेट टोलीले श्रीलंकामा विशेष प्रशिक्षण गर्ने भएको छ ।
एसिसी एसिया कपकोका तयारी स्वरुप श्रीलंकामा १५ दिनको विशेष प्रशिक्षण क्याम्प राख्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
यो प्रशिक्षणबाट खेलाडीको आत्मबल बढाउन र एसिया कपका उत्कृष्ट प्रदर्शनका लागि सहयोग पुग्ने क्यानको अपेक्षा छ ।
क्याम्पमा खेलाडीले कडा तालिम लिनेछन् र श्रीलंकाका स्थानिय क्लबसँग चार अभ्यास खेल खेल्नेछन्। क्यानले श्रीलंका क्रिकेटको सहयोगमा विशेष प्रशिक्षण गर्न लागेको हो । खेलाडीलाई अनुभवी प्रशिक्षक र सहयोगी स्टाफले प्रशिक्षण दिनेछन् ।
एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ (भदौ १३ देखि ३१) सम्म हुनेछ ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।
यसैगरी नेपालले सेप्टेम्बर ४ मा श्रीलंकाको केन्डीमा भारतसँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता हाइब्रिड मोडल अनुसार पाकिस्तान र श्रीलंकामा हुनेछ ।
एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडललाई एसिसीले अनुमोदन गरेको थियो । प्रतियोगिताका १३ मध्य चार खेल पाकिस्तान तथा नौ खेल श्रीलंकामा हुनेछन् । भारतले आफ्ना सम्पूर्ण खेल तथस्ट भुमी श्रीलंकामा खेल्नेछ ।
पाकिस्तानले सुरुमा युएईलाई दोस्रो स्थलको रूपमा प्रस्ताव गरेको थियो । सो समयमा युएईमा हुने गर्मीलाई मध्यनजर गरेर पाकिस्तान पछि हटेको बुझिएको छ ।
एसिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रतिस्पर्धा गर्नेछन् ।
एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पुगेको नेपाल हाल श्रीलंकामै छ । काठमाडौंमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो ।