आइसिसी एकदिवसीय विश्वकप छनोट

जिम्बावेले दियो अमेरिकालाई चार सय नौ रनको लक्ष्य

काठमाडाैं । घरेलु टोली जिम्बावेले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकासामू चार सय नौ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै चार सय आठ रनको योगफल तयार पारेको थियो ।

यो जिम्बावेले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा उच्च योगफल हो। यसअघि सन् २००९ मा केन्याविरुद्ध बनाएको तीन सय ५१ रनको योगफल नै जिम्बावेका लागि उच्च थियो ।

जिम्बावेका लागि कप्तान सेन विलियम्सले एक सय एक बलमा २१ चौका र पाँच छक्काको मद्दतमा एक सय ७४ रनको योगदान गरे । यसैगरी जोयलर्ड गाम्बीले एक सय तीन बलमा पाँच चौकाको मद्दतमा ७८, सिकन्दर राजाले ४८, रायन बर्लले ४७, इनोसेन्ट कियाले ३२ र ताडिवान्से मरुमनीले अविजित १८रन जोडे ।

विलियम्सले दोस्रो विकेटका लागि गाम्बीसँग एक सय ६० रन तथा तेस्रो विकेटका लागि राजासँग ८८ तथा चौथो विकेटका लागि बर्लसँग ८१ रनको साझेदारी गरेका थिए । यसैगरी पहिलो विकेटका लागि गाम्बी र कियाले ५६ रनको साझेदारी गरे ।

अमेरिकाका लागि अभिषेक पर्दाकरले तीन, जेस्सी सिंहले दुई तथा नोस्तुश केन्जिगेले एक विकेट लिए ।