ट्वान्टी -२० अन्तर्राष्ट्रिय शृंखला

नेपालले मलेसियालाई दियो ५१ रनको लक्ष्य

काठमाडौं । नेपालले पाँच खेलको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली मलेसियासामू ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वाइएसडी यूकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १६.५ ओभरमा ५० रनमै समेटियो ।

नेपालका लागि डेब्यू खेल खेलेकी सम्झना खड्काले सर्वाधिक १३ रन बनाइन् । यसैगरी ज्योति पान्डेले ११ रन जाेड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मलेसियाका लागि निक नुर अतिलाले तीन तथा आइस्या एलिसा, आइना हमिजाह र महिराह इस्लामीले समान दुई विकेट लिए ।  

११ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेकाे नेपाल जितका साथ शृंखलाको सुरुआत गर्न चाहान्छ । मलेसिया पनि नेपालविरुद्ध ऐतिहासिक जितको खोजीमा छ ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा नेपाल र मलेसियाको टोली हालसम्म तीन पटक आमने सामने भएका छन् । तीनै खेलमा नेपाल विजयी भएको छ ।

नेपालले पछिल्लो पटक  मलेसियामा नै गत वर्ष जुन १७ देखि २५ सम्म भएको एसिसी महिला ट्वान्टी-२० च्याम्पियनसिप खेलेको थियो ।