काठमाडौं । नेपाल एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रशिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।
स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २-० को सोझो सेटमा पराजित गरे । प्रिन्सले दुवै सेट २१-१६ ले आफ्नो पक्षमा पारे । एपिएफका देव राज राना र नेपाल पुलिसका विष्णु कटुवालले तेश्रो स्थान हासिल ।
यस्तै महिला एकलतर्फ रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई पराजित गरिन् । रशिलाले खेल २१-३, २१-१४ ले आफ्नो पक्षमा परेकी हुन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी संयुक्त तेश्रो भए ।
बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानियतर्फ आयोजक स्पोर्टस हबका अनुज तामाङ र सुमित थोकरले जित हात पारे । अनुज र सुमितको जोडीले स्पोर्टस हबकै अनिष गुरुङ र रमेश ठकुरीको जोडीलाई १८-२१, २१-११, २१-१३ ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भएका थिए । तेश्रो स्थानमा ध्रुव खत्री र लाक्पा तामाङको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी रहे ।
पुुरुष शीर्ष २० वरियता बाहेकको युगलतर्फ आयोजकका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडी तथा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप विच भएको प्रतिस्पर्धामा अधिकारी र लिनथेपको जोडीले २१-१४, २१-१९ को जित निकाल्दै उपाधी उचाले । एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी तथा विवेक कन्दङ्गवा र नेल्सन राईको जोडी संयुक्त तेश्रो भए ।
भेट्रान्स ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधी उचाले । खड्का र महर्जनको जोडीले आयोजकका आकास छन्त्याल र आङ्ग कुसाङ्ग शेर्पाको जोडीलाई २१-११, २१-१४ ले पराजित गरे । तेश्रो स्थानमा चितवनका विद्वान गुरुङ्ग र अमर रायमाझीको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी रहे ।
४५ बर्ष माथिको प्रस्पिर्धामा चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गकको जोडीलाई २१-१४, २१-१८ ले स्तब्ध बनाउँदै उपाधि जिते । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेश्रो भए ।
विजयी खेलाडीलाई पूर्व मन्त्री एवं नेकपा माओवादी नेतृ पम्फा भुषालले पुरस्कार वितरण गरेकी थिइन् ।
करिव २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ४५ हजार, २५ हजार र १० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।
ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ वर्ष माथी र ४५ वर्ष माथी गरि ६ विधामा प्रतिस्पर्धा भएको थियो ।