एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिग

गण्डकीमाथि आर्मीको सहज जित

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल लिगमा महिलातर्फ दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार सम्पन्न खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले खेल २५-१८,२५-१२ र २५-१५ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै ५ खेलमा ८ अंक जोडेको आर्मीले चौथो स्थानमा रहेर लिगको अन्त्य गरेको छ । यसैगरी पराजय ब्यहोरेको गण्डकी समान खेलबाट ३ अंकका साथ पाँचौं स्थानमा रह्यो ।

महिलातर्फ शुक्रबार नै हुने अन्तिम खेलमा नेपाल पुलिस क्लब र न्यू डायमन्ड युथ स्पोर्टस क्लब आमने-सामने हुँदैछन् ।

यसैगरी पुरुषतर्फ गण्डकीले दावाँली मिलन, आर्मीले हेल्प नेपाल र एपिएफले पुलिसको सामना गर्नेछन् ।