काठमाडौं । सिनसिनाटी ओपनको दोस्रो चरणमा अघिल्लो शुक्रबार जिल मोन्फिल्ससँग पराजित भएपछि र्याकेट फ्याँकेकोमा कार्लोस अल्कारेजले माफी मागेका छन् ।
लगातार तेस्रो सेट गुमाएलगत्तै स्पेनिस टेनिस खेलाडी अल्कारेजले आफ्नो व्यवहार गलत भएको भन्दै पछि माफी मागेका हुन् ।
अल्कारेजले सामाजिक सञ्जाल ट्विटरमा लामो पोष्ट लेख्दै समर्थक तथा टेनिस परिवारसँग माफी मागेका छन् ।
‘मैले त्यसो गर्नु हुँदैनथ्यो । मैले गलत काम गरेको हुँ, त्यसप्रति म माफी माग्न चाहन्छु,’ अल्कारेजले लेखेका छन्, ‘म पनि एउटा मानिस हुँ । मभित्र पनि विभिन्न खालका भावनाहरु हुन्छन् । त्यसैले कहिलेकाँही भावनामा बग्दा, नर्भस हुँदा त्यस्ता गल्ती हुने रहेछ । आगामी दिनमा मबाट त्यस्तो गल्ती नदोहोरिने बाचा गर्न चाहन्छु ।’
सिनसिनाटीमा गरेको गल्तीमा माफी माग्ने क्रममा २१ वर्षे अल्कारेजले अब आफू युएस ओपनमा केन्द्रित भइसकेको बताएका छन् ।