काठमाडौं । पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नेपाली कांग्रेसले आइतबार सम्मान गरेको छ ।
पलेशालाई ५ लाख रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरियो । यसैगरी प्रशिक्षक कविराज नेगी लामा १ लाख ५० हजार तथा पेरिस ओलम्पिकमै सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महता ५० हजार रुपैयाँ सहित प्रशंसा पत्रबाट सम्मानित भए ।
व्यवस्थापक रामचन्द्र श्रेष्ठ र नेपाल तेक्वान्दो संघलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
टोलीलाई सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुलाई सम्मान गरेका थिए ।
सभापति देउवाले पारा ओलम्पिकमा पहिलो पदक जितेर पलेशाले नेपालको इज्जत र प्रतिष्ठा बढाएको भन्दै यो सफलताले अन्य खेलाडीलाई पनि उत्साहित गर्ने विश्वास व्यक्त गरे ।
खेलकुद मन्त्री तेजुलाल चौधरीले पलेशाले ऐतिहासिक पदक जित्दै देशको गौरव बढाएको बताउदै शिक्षा, रोजगारी र स्वास्थ्यमा ध्यान दिन सके खेलाडी विदेश पलायन हुने अवस्थालाई रोक्न सकिने धारणा व्यक्त गरे ।
सम्मान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझी, क्रेन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत लगायतको उपस्थिती थियो ।
पेरिस पारा ओलम्पिकमा पलेशाले के-४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी थिइन् ।