काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली टप एन्ड ट्वान्टी-२० शृंखलाको आफ्नो पहिलो खेलमा शुक्रबार घरेलु क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।
अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्ड २ मा नर्दर्न टेरिटोरीले प्रस्तुत गरेको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १३५ रनमात्रै बनाउन सक्यो ।
नेपालका लागि कुशल मल्लले ३४, गुल्शनकुमार झाले २६, कप्तान रोहितकुमार पौडेलले २३, दीपेन्द्रसिंह ऐरीले १९ र आसिफ शेखले ११ रन बनाए ।
म्याट ह्यामन्डले तीन तथा केन रिचर्डसन, थोमस एन्ड्रयुले समान दुई तथा हामिस मार्टिनले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नर्दर्ज टेरिटोरीले निर्धारित २०ओभरमा आठ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो ।
नर्दर्न टेरिटोरीका लागि डार्सी शर्टले ३४ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे । यसैगरी थोम एन्ड्रयुले अविजित ३३, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८, क्याडी म्याकमोनले १२ र कप्तान जेक वेदराल्डले ११ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले तीन शाहब आलमले दुई तथा दीपेन्द्रसिंह ऐरी, रुपेश सिंह र कप्तान रोहितकुमार पौडेलले समान एक विकेट लिए ।