चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा

युनिका र भिजन च्याम्पियन

काठमाडाैं । पुष्पलाल मेमोरियलकी युनिका खतिवडा र बाल गीताञ्जलीका भिजन तामाङले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्वारा आयोजित प्रतियोगिताको पुम्से एकलतर्फ महिलामा युनिका तथा पुरुषमा भिजन च्याम्पियन बनेका हुन् ।

महिलामा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) की प्रगति कुइकेल दोश्रो तथा शुसंस्कारकी सिजल लामा र चन्द्रागिरीकी सिमानी लामा तेश्रो भए ।

पुरुषमा एनटीएका आयुश ढुंगेल दोश्रो तथा चन्द्रागिरीका लवाङ लामा र आयोजकका आर्दश बुढाथोकीले तेस्रो स्थान हासिल गरे

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमा एम्बासडरका कविर मगर पहिलो भए ।

उनले फाइनलमा एनटीएका अर्थ कुइकेललाई पराजित गरे । २५ केजीमा एनटीएका प्रशान्त धमलाले एम्बासडरका सन्जिव जिरेललाई हराउदै स्वर्ण जिते । २८ केजीमा चन्द्रागिरीका समिर ठाकुरले शीर्ष स्थान हात पारे । समिरले फाइनलमा एनटीएका कुशल बाँस्तेलालाई पाखा लगाए ।

गोकर्णेश्वर नगरपालिका वडा १ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको महिला २० केजीमा आयोजककी पुनम घिमिरेले फाइनलमा एनटीएकी स्मारिका गौतमलाई पन्छ्याउदै पहिलो भइन् । 

२५ केजीमा कोटेश्वरकी हृदयानी बस्नेतले एम्बासडरकी याङगी शेर्पाको चुनौती समाप्त पार्दै स्वर्ण चुमिन् । ३२ केजीमा एनटीएका भिजन तामाङले पुष्पलालका सुवास भुजेलमाथि जित रच्दै शीर्ष स्थान हात पारे ।

प्रतियोगिताको संघीय सांसद सन्तोष चालिसेले निर्णायकलाई खेल सामाग्री हस्तान्तरण गर्दै उद्घाटन गरे । प्रतियोगितामा गेरोगीमा २१ तथा पुम्से (एकल) मा २ गरी  २३ स्पर्धामा ३ सय १२ खेलाडीको सहभागिता रहेको आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले जनाएका छन् ।

 प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।