दिलिप स्मृति तेक्वान्दो प्रतियोगिता

आयोजकका रोनिशा र कृपालाई स्वर्ण

सांकेतिक तस्बिर


काठमाडौं । आयोजक दिलिप स्मृति प्रतिष्ठानका रोनिशा गौतम र कृपा गौतमले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला जुनियर २४ केजीमुनिको फाइनलमा रोनिशाले डेनेबकी युनिशा राईलाई पराजित गरिन् । जुनियर महिला २२ केजीमुनिको फाइनलमा कृपाले ढल्कुकी रिम्फु तामाङलाई हराइन् ।

जुनियर महिला ३४ केजीमुनिमा लैनचौरकी कृजला श्रेष्ठ, ३१ केजीमुनिमा ढल्कुकी योङचेन लामा र २८ केजीमुनिमा ढल्कुकी जोबियाना तामाङ पहिलो भए। 

जुनियर पुरुष ५४ केजीमुनिमा निश्चल धोली, ४९ केजीमुनिमा करण धोली र ४६ केजीमुनिमा कैलाश थापाले स्वर्ण जिते । तिनै जना आयोनक टोलीका हुन् ।

यसैगरी ४३ केजीमुनिमा ढल्कुका रोजन लामा, ३८ केजीमुनिमा युन्सुबका सुजन ग्लान, १८ केजीमुनिमा चुनदेवीका शिरीश मगर र १५ केजीमुनिमा आयोजकका आदित्या माझीले स्वर्ण जिते ।

प्रतियोगिताका दौरान तेक्वान्दोमा प्रतिभावन खेलाडी उत्पादनमा योगदान पुर्याएवापत आयोजक प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीलाई नगद ५१ हजारसहित सम्मान गरिएको थियो ।

प्रतियोगितामा एक सय ८० खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।  बिहीबार सम्पन्न हुने प्रतियोगिताका  शीर्ष तीन टोलीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।