अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता

अन्तरविद्यालय टेबल टेनिसः सुविन र सुप्रिया च्याम्पियन

अन्तरविद्यालय टेबल टेनिसको ब्वाइज सिंगल्सका पदक विजेता

काठमाडौं । महान सिद्धार्थका सुविन पोखरेल र सेन्ट लरेन्सकी सुप्रिया गुरुङले अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा च्याम्पियन बनेक छन् । सुविन सिंगल्स ब्वाइज तथा सुप्रिया गर्ल्सतर्फ च्याम्पियन बनेका हुन्।

प्रोग्रेसिभ एजुकेसनल फोरम (पिइएफ) द्धारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सुविनले लभ्ली एन्जल्सका मुकेश खत्रीलाई ६-११, ११–७, १२-१०, ८-११ र ११-५ को सेटमा पराजित गरे । दुर्गा भवानीका सहज दाहालले मोक्षदाका पदमबहादुर भट्टराईलाई २-० ले हराउदै तेश्रो भए ।

गर्ल्स फाइनलमा सुप्रियाले लभ्ली एन्जल्सकी मिङमा शेर्पालाई ११-८, ६-११, ९-११, ११-३ र ११-३ को सेटमा पाखा हराइन् । निमोनिककी सुजाता चौलागाईंलाई २-१ ले स्तब्ध बनाउँदै मोक्षदाकी सहारा गौतमले तेस्रो स्थान हासिल गरिन्  ।

विजेतालाई राष्ट्रिय टेबल टेनिस खेलाडी एलिना महर्जन, पिइएफकी अध्यक्ष सीता भट्टराई, सेन्ट लरेन्सका चेयरम्यान केशवप्रसाद दंगाल, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, सेन्ट लरेन्सका भाइस प्रिन्सिपल उज्ज्वल सिंह, रेफ्री संयोजक नवीन सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

चावहिलस्थित प्रायोजक सेन्ट लरेन्स स्कुलमा शुक्रबार आयोजित एक दिने प्रतियोगितामा विभिन्न १० विद्यालयका समान १० ब्वाइज/ गर्ल्स गरी २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।