अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता

भासरा, न्यु होराइजन, एमआइएस र गार्गी सेमिफाइनलमा

राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिसको उद्घाटन गर्दै सदस्यसचिव टंकलाल घिसिङ (दायाँं)।

काठमाडौं । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआइएस) र गार्गी एकेडेमी, बुटवले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सो स्पर्धाको गर्ल्मा आदर्श विद्या मन्दिर (एभिएम), भासरा, स्वस्तिश्री गुरुकुल र प्रभातले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले  गरे । एक सय ९० ब्वाइज तथा ८० गर्ल्स गरी दुई सय ७० खेलाडी सहभागी प्रतियोगितामा ब्वाइज÷गर्ल्स सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले सात हजार पाँच सय तथा सेमिफाइनलबाट बाहिरिनेले समान तीन रुपौयाँ प्राप्त गर्ने छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।