हक्की

पुरुष हक्कीको सेमिफाइनल समीकरण पूरा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत मंगलबार पुरुष हक्कीको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘क’मा अपराजित रहँदै १२ अंक बटुलेको आर्मी समूह विजेता र ७ अंक जोडेको गण्डकी प्रदेश उपविजेताको हकमा अन्तिम चरामा पुगेका छन् ।

यस्तै, समूह ‘ख’बाट नेपाल पुलिस क्लब अपराजित रहँदै समूह विजेताको हकमा सेमिफाइनलमा पुग्दा तीनमध्ये दुई खेल जितेको कर्णाली ६ अंक जोडेर उपविजेताको रुपमा अन्तिम चारमा आइपुग्यो ।

भोलि (बुधबार) हुने पहिलो सेमिफाइनलमा कर्णालीले विभागीय महारथी आर्मीको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा स्थानीय टिम गण्डकी र पुलिस आमनेसामने हुनेछन् ।

मंगलबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई १–० गोलको नतिजामा पराजित गरेको थियो । आर्मीका लागि ५७औं मिनेटमा रोशन चौधरीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

दोस्रो खेलमा कर्णाली प्रदेशले बागमती प्रदेशलाई १–० गोलले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो । निकै महत्वपूर्ण खेलमा कर्णालीलाई सेमिफाइनल पुर्याउन खेलको २६ औं मिनेटमा निरञ्जन रोकायाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।