काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी राष्ट्रिय महिला हक्की प्रतियोगितामा सोमबार च्याम्पियन बनेको छ ।
सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि आर्मी शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो । चार टिम सहभागी महिलातर्फ अपराजित आर्मीले सर्वाधिक ९ अंक जोड्यो ।
च्यासल मैदानमा आर्मीले लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्यो । आर्मीका लागि दमरा भट्टले दुई तथा सीतामाया बलले एक गोल गरे । हार व्यहोरेको गण्डकी ६ अंकसाथ दोश्रो भयो ।
नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगितामा तीन अंकसाथ मधेश प्रदेश तेश्रो भयो । सोमबार मधेशले बागमती प्रदेशलाई १-० ले हराएको थियो ।
शीर्ष तीनले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार रुपैयाँ प्राप्त गरे ।
आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिइन् । यसैगरी मधेशकी खुश्बुकुमारी उदीयमान खेलाडी, अनिशा थापामगर उत्कृष्ट गोलकिपर र सोनु बराल उत्कृष्ट रक्षक घोषित भए । दुवै गण्डकीका हुन् ।
प्रतियोगिताभर ५ गोल गरेकी आर्मीकी कमला चन्द सर्वाधिक गोलकर्ता बनिन् । उत्कृष्ट पाँचैले जनही ५ हजार रुपैयाँ हात पारे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य एवं हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी, हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मालगायतले गरे ।