गल्फ

सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखि सुरु हुने

काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसियसनको आयोजनामा बुधबारदेखि सूर्य नेपाल वेस्टर्न ओपन हुने भएको छ ।

हिमालयन गल्फ कोर्ष, पोखरामा हुने प्रतियोगितामा ५४ होल्समा खेल हुनेछ । सूर्य नेपाल प्राइभेट लिमिटेडको प्रायोजन रहेको प्रतियोगितामा ३० प्रोफेसनल र १५ एम्च्योरहरु सहभागी हुने आयोजकले मंगलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैंया, उपविजेताले ८८ हजार रुपैंया र तेस्रो हुने व्यक्तिले ६५ हजार रुपैंया प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट २१ खेलाडीलाई पनि नगदले सम्मान गरिने आयोजकले बताएको छ ।

भुवन नगरकोटी, सञ्जय लामा, धना थापा र रमी मगरलाई वेस्टर्न ओपनको दाबेदारको रुपमा हेरिएको आयोजकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।