बाह्रखरी गल्फ

एनसेल बाह्रखरी गल्फको पहिलो दिन राजकुमार र सुस्मासिंहलाई अग्रता

धरान । स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिन सफल भएका छन् ।

धरान गल्फ क्लबमा सुरु प्रतियोगिताको पाँचौं संस्करणमा राईले पहिलो दिन ४१ ‘स्टेबलफोर्ड स्कोर’ गर्दै अग्रता बनाउन सफल भएका हुन् । धरानका राईले २ ‘ह्याण्डी क्याप’मा खेल्दै समग्रमा ४ बर्डी र एक बुगी खेलेका छन् । जसका कारण राईलाई ‘बेष्ट ग्रस र मोष्ट बर्डी’को पनि दाबेदार बनाएको छ ।

धरानकै खेलाडी सुयश प्याकुरेल ३७ ‘स्टेबलफोर्ड स्कोर’का साथ दोस्रो स्थानमा छन् । त्यस्तै पोखराका हरी राई, धरानका राम तामाङ र विनोद राई ३५ ‘स्टेबल फोर्ड स्कोर’का साथ संयुत्त रुपमा तेस्रो स्थानमा छन् ।

महिलातर्फ काठमाडौंकी खेलाडी सुस्मासिंह शाह ३९ ‘स्टेबलफोर्ड स्कोर’ जोड्दै पहिलो स्थाानमा रहेकी छिन् । दोस्रो स्थानमा रहन सफल धरानकी सुमित्रा लिम्बुले ‘३७ स्टेबल फोर्ड स्कोर’ गरेकी छिन् ।

‘क्लोजेष्ट टु दी पीन’तर्फ धरानका खेलाडी बुद्धिमान सुुनुवार होलको ६ फिट नजिक राख्न सफल भएर अग्र स्थानमा रहन सफल भएका छन् । त्यस्तै सिद्धार्थ राई ‘लङ्गेष्ट ड्राइभ’तर्फ अग्र स्थानमा छन् ।

‘स्टेबलफोर्ड फम्र्याटमा ३ बाई ४ ‘ह्याण्डी क्याप’मा खेलाइएको प्रतियोगितामा पहिलो दिन ५२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । त्यसमध्ये महिलातर्फ पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने बाँकी पुरुष खेलाडी थिए ।

प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन शनिबार ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।