सूर्य नेपाल गल्फ टुर

सूर्य नेपाल वेस्टर्न ओपन बुधबारदेखी सुरु हुने

सांकेतिक तस्बिर

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन बुधबार देखि  पोखरास्थित हिमालयन गल्फ कोर्समा सुरू हुने भएको छ ।

सूर्य नेपाल वेस्टर्न ओपनको यो २३ औं‌ संस्करण हो। प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यवसायीक र १४ एमेच्योर खेलाडीले भाग लिनेछन्। दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउने छन्।

शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ। जहाँ पोखरा र देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्नेछन्।

यसपपटक प्रतियोगिताको  पुरस्कार राशी वृद्धि गरेर आठ लाख पुर्याइएको आयोजकले बताएको  छ।  प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहेने खेलाडीले पनि नगद  पुरस्कारहात पार्नेछन्।

नेपाल नम्बर एक व्यवसायिक खेलाडी शुक्र बहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापती, सञ्जय लामा, धन थापा र रामे मगर, १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ तथा राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार हुन् ।

सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यो प्रतियोगिताबाट प्रोफेसनल करिअरको यात्रा सुरू गर्दैछन्।

यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ अन्तर्गत रहेकाले एमेच्योर खेलाडीले आफ्नो वरियता सुधार गर्न महत्वपूर्ण अंक प्राप्त गर्न सक्नेछन्।

देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि हिमालयन गल्फ कोर्सलाई परिमार्जित गर्दै कठिन बनाइएको छ।‌ ६९ पारको १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दोहोर्याएर खेल्नु पनि चुनौतीपुर्ण रहनेछ। जसले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।