क्विक्स/ग्रिनल्यान्ड कप

भ्याली पब्लिक र ग्रिनल्यान्ड सेमिफाइनलमा

काठमाडौं । भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्ड १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले गोल्डेनपिकलाई ३५-२१ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले १२ अंक योगदान गरे । दिवस भुजेलको २७ अंक सहयोगमा ग्रिनल्यान्डले सेन्ट जोसेफलाई ३९-३० ले हरायो ।

सोही स्पर्धामा बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ६१-५१ तथा एचएचसीएले टीआईएलाई ३९-२३ ले पाखा लगाए । बीएनएका सन्देश खड्काले ३८ तथा एचएचसीएका दोर्जे शेर्पाले १५ स्कोर गरे ।

जुनियर ब्वाइजमा बीएनएले इबीएलाई २३-१७, एन्जल्स हार्टले गोल्डेनपिकलाई ३६-१६, स्किब्सले गोल्डेनपिकलाई १६-१३ तथा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले भ्याली पब्लिकलाई २१-१९ ले पन्छाए । बीएनएका सुरेश गौतमले ११, एन्जल्स हार्टका प्रतीक कँडेलले २४, स्किब्सका सोनाम ठकुरीले ४ तथा एलएनएका रिदम उप्रेतीले १८ अंक जोडे ।