काठमाडौं । भारतमा हुने भनिएकाे महिला कबड्डी विश्वकपकाे दोस्रो संस्करण अनिश्चतकालका लागि स्थगित भएकाे छ ।
प्रतियाेगिता हैदराबादको गाछीबौली इन्डोर रंगशालामा साउन १८ देखि २५ सम्म हुने तय थियाे ।
यो प्रतियोगिता यसअघि पनि सरिसकेकाे थियाे । यसअघि प्रतियाेगिता जुनमा बिहारमा आयोजना गर्ने योजना बनाइएको थियो ।
भारतीय एमेच्योर कबड्डी महासंघ (एकेएफआई) ले अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आइकेएफ) लाई पठाइएको पत्रमा टिम व्यवस्थापनसम्बन्धी विवरण समयमै नआएका कारण सम्बन्धित मन्त्रालयहरूबाट अनुमति लिन ढिलाइ भएको कारणले प्रतियोगिता स्थगन गर्नुपरेको जनाइएको छ।
महासंघले सहभागी राष्ट्रको सूचीमा कुनै फेरबदल स्वीकार नगरिने स्पष्ट पारेको छ। पत्रमा भनिएको छ,‘सूचीमा परिवर्तन आएमा प्रशासनिक प्रक्रिया अवरुद्ध हुन्छ, जसले अनुमतिमा थप ढिलाइ गराउँछ।’
विश्वकपमा भारत, नेपाल, बंगलादेश, इरान, जापान, थाइल्यान्ड, युगान्डा, जाञ्जिबार, अर्जेन्टिना, चाइनिज ताइपेई, पोल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र केन्यालगायत १४ राष्ट्रले सहभागिता जनाउँदै थिए ।