काठमाडौं । नेपालको सबैभन्दा ठूलो च्यारिटी साइकल इभेन्ट, कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण अर्को शनिबार हुने भएको छ ।
विभिन्न देशका ५५ सय भन्दा बढी साइकल यात्रीको सहभागिता रहने इभेन्ट नेपाल, अष्ट्रेलिया, लाओस, क्यानाडा, सिंगापुर लगायतका देशमा हुने आयोजक ‘सोसियल टूर्स’ले बताएको छ । इभेन्ट नेपालका २० भन्दा बढी स्थानहरुमा हुनेछ ।
साइक्लिङ कार्यक्रममार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा देशका विभिन्न स्थानलाई चिनाउने उद्धेश्य बोकको कोरा साइक्लिङ इभेन्ट १४ वर्षअघि सुरु भएको थियो । अहिले यो अभियान ‘साइकल सिटी नेटवर्क नेपाल पाङ्ग्रो आउटडोर इभेन्ट्स’को सह–आयोजनामा राष्ट्रिय रुपमा सञ्चालन भइरहेको छ ।
रेसअन्तर्गत पाटनमा बालबालिकाको सहभागितामा हुने २ किलोमिटर यात्रा र काठमाडौं उपत्यकामा १६५ किलोमिटरको अल्ट्रा राइड समावेश हुनेछन् । यसैगरि रेसमा सहभागीहरुले आफ्नो इच्छाअनुसार २५ किलोमिटर, ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर र १६५ मिटरका रुट रोज्न सक्ने बाइएको छ ।
यसपालीको रेसबाट सिन्धुपाल्चोकको मेलम्ची बजार नजिकै दनुवार समुदायको बस्तीमा सौर्य गृह प्रणाली जडानको उद्देश्य राखिएको छ ।