काठमाडौं । घरेलु टोली इङ्ल्यान्ड र भारतबीचको चौथो टेस्ट बराबरीमा सकिएको छ ।
यो नितजासँगै पाँच खेलको शृंखलामा इङ्ल्यान्डको २-१ को अग्रता कायम छ । यसअघि इङ्ल्यान्डले पाँच विकेट र २२ रन तथा भारतले ३३६ रनको जित निकालेका थिए ।
पाँचौं दिनसम्म चलेको टेस्टको दोस्रो इनिङमा भारतले चार विकेट गुमाउँदै ४२५ रन बनायो ।
दोस्रो इनिङमा भारतका लागि रविन्द्र जडेजाले १८५ बलमा १३ चौका र एक छक्काको मद्दतले अविजित १०७ रनको योगदान गरे । यसैगरी कप्तान शुभमन गिलले १०३, वासिङटन सुन्दरले अविजित १०१ र केएल राहुलले ९० रन बनाए ।
भारतले १७४ २ को स्थितीबाट पाँचौं दिनको सुरुआत गरेको थियो । इङ्ल्यान्डका लागि क्रिस वोक्सले दुई तथा जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो इनिङमा ३५८ रन बनाएको बनाएको थियो । इङ्ल्यान्डले पहिलो इनिङमा ६६९ रन बनाएपछि भारत ३११ रनले पछाडि परेको थियो ।
इङ्ल्यान्डका लागि जो रुटले २४८ बलमा १४ चौकाको मद्दतले सर्वाधिक १५० रनको योगदान गरे । यसैगरी कप्तान बेन स्टोक्सले १४१, बेन डुकेटले ९४, ज्याक क्राउलीले ८४, ओली पोपेले ७१, ब्राइडन कार्सेले ४७ र लियम डसनले २६ रन बनाए ।
भारतका लागि रविन्द्र जडेजाले चार, जसप्रित बुमराह र वासिङटन सुन्दरले समान दुई तथा अन्शुल कम्बोज र मोहम्मद सिराजले समान एक विकेट लिए ।
पाँचाैं तथा अन्तिम टेस्ट बिहीबारदेखि द ओभलमा सुरु हुनेछ ।