स्केटबोर्डिङ

स्केटबोर्डमा समिर र पेम्बा च्याम्पियन

काठमाडौं । समीर विल्सन सुनार र पेम्बा श्रेष्ठ पाँचौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । सिनियरको पुरुषमा समीर र महिलामा पेम्बा पहिलो भएका हुन् ।

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा पोखरा रंगशालाको अन्नपूर्ण स्केट पार्कमा भएको प्रतियोगिताको पुरुषमा धीरज परियार दोस्रो तथा बसन्त राई तेस्रो भए । महिलामा समिक्षा राई दोस्रो तथा स्वाती श्रेष्ठ तेस्रो बने ।

जुनियरको पुरुषमा शिशिर श्रेष्ठले स्वर्ण, आर्यन शाहीले रजत र किरण गुरुङले कांस्य जिते । सोही स्पर्धाको महिलामा खुशी विक प्रथम, एन्जल क्षेत्री द्वितीय तथा सिम्रन थापा तृतीय भए । चारै स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

विजेतालाई कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि प्रतियोगिताको गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले मंगलबारै उद्घाटन गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्लाका करिब १ सय ५० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । फाइनल चरणमा सिनियरतर्फ पुरुष/महिलामा ९/९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जुनियरको पुरुषमा ९ र महिला ३ खेलाडी फाइनलका लागि छनोट भएका थिए । सोमबार छनोट चरणका खेल भएको थियो । खेलाडीले ओलम्पिकमा खेलिने स्ट्रिट स्केटबोर्ड इभेन्टमा प्रतिष्पर्धा गरेका थिए । फाइनलका लागि भारत र मालदिभ्सबाट दुई निर्णायक पोखरा आएको अध्यक्ष खनालले जानकारी दिए ।

कोभिड १९ का कारण करिब दुई वर्षदेखि उक्त प्रतियोगिता हुन सकेको थिएन । पोखरामा तेस्रो पटक प्रतियोगिता भएको हो । बाँकी दुई संस्करण काठमाडौमा भएको थियो ।