काठमाडौं । थाइल्यान्डसँग फराकिलो हार बेहोर्दै नेपाल एएफसी महिला यु–१७ एसियन कपको छनोट चरणबाटै बाहिरिएको छ ।
शुक्रबार चोनबुरी रंगशालामा सम्पन्न समूह ‘एफ’को निर्णायक खेलमा घरेलु टोलीले नेपालविरुद्ध १२-० को सानदार जित हासिल गर्यो । जितसँगै थाइल्यान्डले दुई खेलमा स्पष्ट ६ अंक जोड्दै शीर्ष स्थानको हैसियतले अर्को वर्ष चीनमा हुने एसियन कपमा स्थान बनायो ।
पहिलो हाफमा आठ गोल गरेको थाइल्यान्डले दोस्रो हाफमा चार गोल थप्यो । थाइल्यान्डका लागि फरवार्ड चार्लोटे सिटीप्रासन एक्लैले पाँच गोल गरिन् भने कप्तान कुरीसमरम लिम्पावानिचले ह्याट्रिक गोल गरिन् । त्यस्तै मिडफिल्डर पट्टारामोन सेइङ्टा र फरवार्ड मोनथिडा नुम्नुवानले पनि स्कोरसीटमा आफ्नो नाम लेखाए । एक गोल थाइल्यान्डले आत्मघाती उपहारस्वरुप प्राप्त गर्यो ।
थाइल्यान्डले आफ्नो पहिलो खेलमा तुर्किमिनिस्तानसँग १७–० को फराकिलो जित हासिल गरेको थियो । नेपालले तुर्किमिनिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।